काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आजपनि सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबारमा सुनको मूल्य ४.४० प्रतिशत अर्थात १३५.७० डलरले वृद्धि भएको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार २१८.२४ डलर कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत अप्रिल ३ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतिऔंस ३ हजार १६७.५७ डलर पुगेको थियो ।
डलरको भाउमा आएको गिरावट र चीन र अमेरिकाबीचको बढ्दो व्यापार संकटका कारण सुनको मूल्यमा उछाल आएको हो । विश्व आर्थिक अनिश्चितता र भू–राजनीतिक तनाव जस्ता परिस्थिती सुनको मूल्य उकालो लाग्नका लागि उपयुक्त विषय हुन् ।
आज डलर इन्डेक्स पनि १ प्रतिशतले कमजोर बनेको छ । जसका कारण डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार चीनमाथि थप ट्यारिफ लगाउदै १०४ प्रतिशतबाट १४५ प्रतिशत पुर्याएका छन् । जसका कारण यी दुई देशबीचको व्यापार युद्ध थप चर्किको छ । यस्तै बिहिबार प्रकाशित आँकडाअनुसार मार्च महिनाका अपेक्षाविपरित अमेरिकी उपभोक्ता मूल्य घटेको देखिएको छ । तथापी ट्रम्पले चीनमाथि ट्यारिफ दोब्बर बढाएकाले अमेरिकामा मुद्रास्फितीको कालो बादल भने मडारिएको छ ।
सुन विश्लेषकहरुले सुनको उकालो यात्रा जारी रहनेमा भने आशंका प्रकट गरेका छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने सम्भावनका बीच डलर बलियो हुने भएकाले सुनको मूल्य उकालो यात्रामा ब्रेक लाग्ने उनीहरुको तर्क छ । अमेरिकी अर्थतन्त्रको तथ्यांकलाई विश्लेषण गर्दै विज्ञहरुले फेडरल रिजर्भले जुन महिनाका लागि ब्याजदर कटौती गर्न सक्ने आँकलन गरेका छन् । वर्षको अन्त्यसम्म भने शतप्रतिशतले ब्याजदर कटौती हुनेसक्ने उनीहरुको अपेक्षा छ ।