काठमाण्डौ। सेयर लगानीकर्ताहरुको लागि विसं २०८१ साल फलिफाप नै भएको छ । गत वर्ष समग्र सेयर बजार ३१ प्रतिशतले बढेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात विसं २०८१ वैशाख २ गते नेप्से इन्डेक्स २ हजार ३१ को विन्दुमा रहेको थियो । यस बीचमा नेप्से परिसूचक साउन ३१ गते ३ हजार २ को विन्दुमा बन्द भएको थियो । तर वर्षको अन्तिम कारोबार अर्थात चैत ३१ गते नेप्से परिसूचक २ हजार ६६२ को विन्दुमा बन्द भयो ।
यस हिसाबले गत वर्ष नेप्से परिसूचक ३१ प्रतिशतले बढ्यो। यस्तै २०८१ साल वैशाख २ गते बजार पूँजीकरण ३२ खर्ब ८२ अर्ब रुपैयाँ रहको थियो । तर चैत्र ३१ गते बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब रहेको छ । यस हिसाबले यो एक वर्षमा लगानीकर्ताहरुको सम्पति ११ खर्ब ४३ अर्बले बढेको छ । यो भनेको नेप्सेमा थपिएका नयाँ कम्पनी , हकप्रद तथा एफपीओ समेत हो ।
समुह गत रुपमा यो वर्ष वाणिज्य बैंक समूह २७.६ प्रतिशत , बिकास बैंक समूह ३५ प्रतिशत , बित्त समूह २३.४१ प्रतिशत , लघुवित्त समूह १९.४२ प्रतिशत , जलविद्युत समूह ४०.८ प्रतिशत, जीवन बीम समूह २९ प्रतिशत , नीजिर्वन बीमा समूह १७ प्रतिशत , अन्य समूह ४४ प्रतिशत , लगानी समूह ४८ प्रतिशत , कारोबार समूह ६४ प्रतिशत , उत्पादन समूह ७ प्रतिशत , होटल्स समूह २५ प्रतिशत र म्यूचूअल फण्ड ६.९ प्रतिशतले वृद्धि भएका छन् ।
कस्तो रहला नयाँ वर्ष ?
२०८१ सालको सेयर बजार निकै उतारचढावपूर्ण रह्यो । साउन ३१ गते नेप्से परिसूचक ३ हजार माथि सम्म नेप्से पुग्यो । त्यो समयमा बजार पूँजीकरण झण्डै ४७ खर्ब रह्यो । सेयर कारोबार पनि हाल सम्मकै उच्च एकै दिनमा करिब ३० अर्ब नजिक पुग्यो । यस हिसाबले लामो समय १८ सय देखि २२ सय सम्म साइडवेज चलेको बजारमा एकै महिनामा एकाएक रौनक आयो । तर त्यो रौनक लामो समय टिकेन । बजार ३ हजारबाट खसेर २४६० विन्दुसम्म आयो । आज २६६२ को बिन्दुमा बन्द भयो । यस हिसावले यो बर्ष बजार २४६० देखि ३ हजारसम्म साइवेज नै चलेको छ । हालसम्मको समग्र सेयर बजार र राष्ट्रबैंकका तथ्याँक नियाल्दा तरलता सहज रहेको अवस्था छ । त्यसैगरि ब्यालेन्स अफ पेमेन्ट , विदेशी मुद्राको सञ्चिती तथा राष्ट्रबैंकको चालू खाता सकरात्मक नै रहेको देखिन्छ । यस हिसाबले आधारभूत रुपमा देशको आर्थिक अवस्था मजबुत र सबल देखिन्छ ।
यस कारण नयाँ वर्ष वर्ष २०८२ मा नेपालको सेयर बजारले हालसम्मकै उच्च विन्दु ३२ सयलाई ब्रेक गरेर नयाँ उचाइ चुम्न सक्छ । यसका लागि हाल लगानीकर्ताहरुकमा केही कमजोर रहेको मनबोललाई उकास्न आवश्यक देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।