काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०१ प्रतिशत अर्थात २७.१४ अंकले बढेर २ हजार ६८९.२२ विन्दुमा पुगेको छ ।
आज यो वर्षको पहिलो कारोबार दिन हो । आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले बढेर ४५०.५२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज अघिल्लो कारोबारको तुलनामा कारोबार बढेको छ । गतै चैत ३१ गते बजारमा ६ अर्ब २८ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आजको कारोबार हेर्दा बजार घट्न रोकिएको मान्न सकिन्छ । आजको बढोत्तरी नयाँ वर्षको नयाँ उत्साह पनि हो । यद्यपी बजारको आगामी यात्रा भने कम्पनीहरुको तेस्रो त्रैमासिक प्रतिवेदनले निर्धारण गर्नेछ ।’
आज बजार बढ्दा कारोबार बढ्नु सकारात्मक भएको तर बलेफी हाईड्रको मात्रै २ अर्ब माथिको कारोबार हुनुले भने कारोबारमा खासै सुधार भएको मान्न नसकिने उनले बताए ।
अर्का बजार जानकार विनोद अर्यालले पनि बजारमा करेक्सन सकिएको र बजारमा नयाँ उत्साह देखिएको बताए । चैत मसान्तको प्रभाव सकिएसँगै बजारले अब अप ट्रेण्ड लिएको र घट्नु पर्ने कुनै कारण नरहेको पनि उनले दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात २.६३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.५३, विकास बैंक २.४०, फाइनान्स १.६५, होटल २, हाईड्रो १.४७,जीवन बीमा ०.८६, उत्पादन तथा प्रशोधन १.२१,लघुवित्त ०.६१,निर्जीवन बीमा १.०९ र अन्य समूह ०.४७ प्रतिशतले बढ्यो ।
म्युचुअल फण्ड समूह आज अपरिवर्तित रह्यो भने व्यापार समूह भने ०.९७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन बलेफी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २ अर्ब १ करोड बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड २३ लाख, राधी विद्युतको ३६ करोड २२ लाख र सिईडिबि होल्डिङको ३२ करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बेंक,नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइफो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
सुपर मादी हाईड्रोको सेयरमूल्य पनि आज ५.८४ प्रतिशत,एनआरएन इन्फ्रास्ट्रक्चरको ५.४७,सामुदायिक लघुवित्तको ५.२२ र हाथवे इ्रन्भेष्टमेन्टको सेयरमूल्य ५.२० प्रतिशतले बढ्यो ।
बलेफी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । यस्तै विन नेपाल लघुवित्तको ६.२५ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले घट्यो ।