काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको बीमाशुल्क आर्जन र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.८५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ३७ करोड बीमाशुल्क आर्जन गरेको थियो ।
बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफा समेत बढेको छ । अघिल्लो आवमा २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा भने २९ करोड ५७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । चालु आवमा आर्जन गरेको खुद नाफा अघिल्लो आवको तुलनामा ३१.८९ प्रतिशतले बढी हो ।
कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ६ अर्ब ९७ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ८ अर्ब ३८ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल आम्दानी पनि ८ अर्ब ८९ करोडबाट वृद्धि भएर १० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा गिरावट आएको छ । अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ४२ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३९ करोड १९ लाख रुपैयाँबराबरको रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९३६.५७ रुपैयाँ र पीई अनुपात ५५.९० गुणा कायम भएको छ ।