काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६२०.३९ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४४१.४९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘समग्रमा बजारमा कारोबार राम्रै देखिन्छ । लगानीकर्ता गभर्नरको नियुक्तिको प्रतिक्षामा छन् । गभर्नर सिफारिस समितिको बैठक बस्न नसक्दा पनि लगानीकर्ता निराश बनेका छन् ।’
बैंकको ब्याजदर घट्दो क्रममा रहेकाले लगानीको अन्य विकल्प पनि नरहेको पाठक बताउछन् । ‘हालै आएको सरकारको नीति तथा कार्यक्रम राम्रै छ । सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने विषय बैंकहरुका लागि उत्तम भएको र यसले बैंकको वितरणयोग्य नाफा बढ्ने देखिन्छ,’ उनले भने ।
अर्का बजार जानकार सुमन कुमार रिजालले पनि लगानीकर्ता गभर्नर नियुक्तिको प्रतिक्षामा रहेकाले बजार साइडवेज चलेको बताए । उनले बजारलाई कारोबारले भने साथ दिएको र बजार बढ्ने सिजन भएकाले सबै विषय सकारात्मक बन्दै गएमा बजार बढ्ने दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक बढ्यो। यो समूह आज ०.७३ प्रतिशतले बढ्यो ।
यस्तै आज बैंकिङ समूह ०.२७ प्रतिशत, होटल ०.२०,निर्जीवन बीमा ०.३७ र व्यापार समूह ०.४२ प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात १.३५ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.४५ प्रतिशत,हाईड्रो ०.२४,लगानी ०.९४, जीवन बीमा ०.३४,लघुवित्त ०.०१,म्युचुअल फण्ड ०.३७ र अन्य समूह ०.०४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६० करोड ४८ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५५ करोड १४ लाख,राधी विद्युत कम्पनीको ५१ करोड ४६,एनआरएन इन्फ्रास्ट्रक्चरको ५० करोड ५६ लाख र अपि पावरको ३९ करोड ४५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ,ओम मेगाश्री फर्मास्युटिकल्स र अपर सोलु हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य पनि आज ८.८१ प्रतिशत, समाज लघुवित्तको ७.६७ र रिडी पावरको सेयरमूल्य ५.८५ प्रतिशतले बढ्यो ।
विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ७.९५, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.७१ र बलेफी हाईड्रोपावरको सेयरमूल्य ५.८९ प्रतिशतले घट्यो ।