काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीणरमण पराजुलीले सेयरधनीहरुलाई उत्कृष्ट लाभांश दिदै आइरहेको बताएका छन् ।
कम्पनीको पूर्ण स्वामित्वको सहायक कम्पनी नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको केन्द्रिय कार्यालय समुद्घाटन कार्यक्रममा बिहीबार बोल्दै सीईओ पराजुलिले यस्तो बताएका हुन ।
साथै कम्पनीले साढे २ दशकमा आफ्ना स्टेकहोल्डरहरुलाई राम्रो बोनससँगै बीमा सुबिधा समेत दिंदै आइरहेको पनि बताए ।
'हामीले जीवन बीमा क्षेत्रमा बीमितहरुले खोजे जस्तो पोलिसी लिएर आएका छौ, बीमितले बीमामार्फत गरेको बचत रकमलाई सही क्षेत्रमा लगानी गर्न आज हामीले इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेका छौ' उनले भने, 'हामीले बीमा प्राधिकरणबाट यो कम्पनी संचालन गर्न अनुमती पाएपछि त्यहिअनुरुप सहि क्षेत्रमा लगानीको वातावरण बनाएर स्टेकहोल्डरहरुलाई राम्रो बोनस दिनेछौ ।'
साथै यस इन्भेस्टमेन्ट कम्पनीले लगानी विविधीकरणमा जोड दिदै रिटर्न आउने सेक्टरमा मात्रै लगानी गर्ने उनले बताए ।
'यस कम्पनीले लगानी विविधिकरणमा जोड दिएपनि रिटर्न आउने क्षेत्रमा मात्रै लगानी गर्छौ ।' उनले भने, 'स्टेकहोल्डर र सेयरधनीहरुलाई प्रतिफल दिने हिसाबले लगानी गर्नेछौ ।'

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                