काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ६३८.४९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४ लाख २६ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले १९ करोड ४१ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४६.४२ प्रतिशतले बढी हो ।
कम्पनीको कुल आम्दानी पनि १९८.७२ प्रतिशतले बढेर २३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवसम्म ७ करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको दाबी भुक्तानी पनि २ करोड ७० लाखबाट बढेर १३ करोड ९ लाख पुगेको छ ।
कम्पनीको महाविपत्ती कोषको आकार २० लाख ४८ हजार र रिटेन्ड अर्निङको आकार १ करोड २२ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले १ लाख ११ हजार ९३४ वटा बीमा पोलिसी जारी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.८७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०२.८८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९५.४० गुणा कायम भएको छ ।