काठमाण्डौ । नेपाल टेलिकमले लाङटाङ–क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ ।
काठमाण्डौदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरुलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग साटासाट गर्न सहयोग पुग्ने नेपाल टेलिकमको विश्वास छ । समुद्री सतहबाट करिब ३ हजार ८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो ।
लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                