काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल(इप्पान)ले आफ्ना अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको झूठा आरोप लगाएपछि सो विषयमा लिखित संस्थागत धारणा मागेको छ ।
दुई दिनअघि पत्र लेख्दै सेबोनले आईपीओमा कमिसन मागेको प्रकरणमा इप्पानको संस्थागत धारणा मागेको हो ।
इप्पानका केही सदस्यहरुले कमिसन मागेको आफूलाई अरु उर्जा उत्पादकहरुले भनेको भन्दै अनौपचारिक बैठकमा भनेको विषयलाई केही पदाधिकारीको संलग्नतामा सुनियोजित ढंगले बाहिर ल्याइएको थियो । इप्पानको आन्तरिक बैठकहरुमा एकथरि कुरा गर्ने र धितोपत्र बोर्डका अधिकारीहरुसँगको भेटमा भने अर्कोथरि कुरा गर्ने प्रवृति देखिएपछि संस्थागत धारणा मागिएको बोर्ड स्रोतले जनाएको छ ।
यस्तै, सेबोनले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको नाम लिएर केही व्यक्ति तथा समूहले कमिसन मागेको आरोपको समेत खण्डन गरेको छ । सेबोनले इप्पानको संस्थागत धारणा झै गरेर उर्जा उत्पादकहरुले आरोप लगाएका र त्यसको आधार तथा कारण समेत मागेको छ ।
‘सेबोनको पत्रमा धितोपत्र बोर्डको अध्यक्षको नाम लिएर कमिसन माग्नेहरुको पहिचान खुलाइदिन र त्यस्तो कुनै प्रमाण भए त्यो पनि उपलब्ध गराइदिन भनिएको छ ।’ इप्पाननिकट स्रोतले भन्यो–‘पत्रमा सेबोनको नाममा कसैले कमिसन मागेको पुष्टि हुने आधार तथा कारण भए ऊमाथि कडा कारबाही गरिने विषय समेत उल्लेख छ ।’
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठमाथि लगाइएको आरोप सुनियोजित रहेको र आधार तथा प्रमाण समेत नरहेको इप्पानकै पदाधिकारीहरुले सार्वजनिक सञ्चारमाध्यममा बताइसकेका छन् । उपाध्यक्ष उत्तम भ्लोन लगायतका केही व्यक्ति परिचालन भएर श्रेष्ठलाई पदबाट हटाउने नियतले झूठा आरोप लगाइएपछि पछिल्लो समय इप्पानमै खटपट बढेको छ । जसको प्रभाव सेबोनले लेखेको पत्रको जवाफ दिने विषयमा समेत परेको छ ।
हाल इप्पानको अध्यक्ष गणेश कार्की देशबाहिर छन् । कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले कार्की नआउँदै सेबोनलाई पत्र लेख्ने आँट गरेका छैनन् । कार्की आएपछि कार्यसमिति बैठक राखेर सेबोनको पत्रको जवाफ दिने तयारी रहेको बताइएको छ ।
यता, धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले भने आफूमाथि आरोप लागेको दिनदेखि नै आफूले कमिसन मागेको पुष्टि गर्न इप्पानलाई चुनौति दिंदै आएका छन् । उनले भन्ने गरेका छन्–‘मैले कमिसन मागेको पुष्टि गरिदिनुस्, एक सेकेण्ड पनि पदमा बस्दिँन ।’ सेबोन अध्यक्ष श्रेष्ठको यही अडान र दृढ संकल्पका कारण आरोपहरुको हल्ला चलाएर आफ्नो रोटी सेक्ने केही उर्जा उत्पादकहरु पछिल्लो समेत हच्किएका देखिएको छ।