काठमाण्डौ । याक अट्याक नामक विश्वकै सबैभन्दा उच्च हिमाली क्षेत्रमा आयोजना गरिदै आएका बहुदिवसीय साइकल प्रतियोगिता सुरु भएको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, जर्मनी, बेल्जियम, भारतलगायत देशहरुबाट नेपाली साइक्लिस्टसँग अन्नपुर्र्ण सर्किटमा साहसिक साइक्लिङ गर्न काठमाण्डौ आइपुगेका छन् ।
काठमाण्डौमा भेला भई दर्ता पूरा गरेका उनीहरु उपत्यकाका आसपास साइक्लिङ गर्दै शनिबार लमजुङ पुगेर आइतबारदेखि औपचारिक रुपमा सुरु गरिएको साइक्लिङ प्रतियोगिता याक अट्याकमा सहभागी भएका छन् । दुई दशकदेखि नेपालमा बर्सेनी याक अट्याक प्रतियोगिता सञ्चालन गरिआएको एमटिबी वर्डवाइड बेलायतले यस वर्षदेखि साइकल कल्चर कम्युनिटी नेपालसँग सहकार्य गरि जेठ ९ गतेबाट सुरु भएको यो प्रतियोगिता जेठ १९ गते पोखरा पुगेर समापन हुनेछ ।
लम्जुङको घले गाउँ, चामे, मनाङ, याक खर्क, थोरोङला फेदी लगायतका मनोरम साइकल ट्रेल्सहरु हुँदै थोरोङला पास पार गरि मुक्तिनाथ, कागबेनी लुब्रा लुप, मार्फा गाउँ, तातोपानी, बेनी हुँदै ३७ जनाको समुह पोखरा पुग्ने छन् । त्यस क्रममा साहसिक उकालो, ओरालो, भञ्जाङ, खोलानाला, खोचहरु, हिमाल पार गर्दै शारीरिक, मानसिक, प्राविधिक सबै किसिमका अनुभवबाट साहसिक जोखिमहरु जितेर याक अट्याक सम्पन्न गरेपछि संसारको जुनसुकै क्षेत्रमा साइक्लिङ गर्न सक्ने क्षमता वृद्धि हुने विश्वास गरिन्छ ।
यसर्थ पनि विश्वभरबाट याक अट्याक साइक्लिङमा सहभागी बन्न साइक्लिस्टहरु नेपाल आउने क्रम जारी छ । यस प्रतियोगिताले नेपाललाई विश्व जगतमा चिनाउन मद्दत पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।