काठमाण्डौ । लगानीकर्ताहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सीइओ प्रविन पन्दाकसँग भेटवार्ता गरेका छन् । सेयरलगानीकर्ता संघका अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एस।पी।चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन)ले संयुक्त रुपमा भेट गरी पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने गरी कार्य सम्पादन गर्न सुझाव दिएका छन् ।
सीईओ पन्दाकको नेतृत्वमा सिडिएससी अझ थप नवप्रवर्तनशील, उत्तरदायी तथा लगानीकर्तामैत्री बन्ने लगानीकर्ताहरुले आशा व्यक्त गरेका छन् । सिडिएससीले मु्लुकभरका सेयर लगानीकर्ताका लागि हितग्राही खाता, कागजरहित सेयर कारोबार, आईपीओ आवेदन प्रणाली र शेयर ट्रान्सफर लगायतका विविध सेवा प्रदान गर्दै आएको बताउँदै हालको अवधिमा मर्जर एवं एक्विजिसनको ट्रान्जेक्सन क्लियरिङ, बोनस सेयर तथा लाभांश वितरणको डिजिटल प्रक्रिया, तथा ई–क्लियरिङ सिस्टम मा आधारित पोष्ट ट्रेड सर्भिसहरूको प्रवर्धनले सिडिएससीको भूमिका थप विस्तृत र महत्त्वपूर्ण बनेको लगानीकर्ताहरुको भनाई छ ।
सिडिएससीको भावी योजना र कार्यान्वयनमा लगानीकर्ता–मैत्री नीतिहरू, प्रविधिको पहुँच विस्तार, शिक्षा तथा सचेतना अभियान तथा ग्राहक सेवा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको सुदृढीकरण जस्ता विषय प्राथमिकतामा पर्ने कुरामा लगानीकर्ताहरु आशावादी रहेका छन् ।
विशेष गरी मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दुर दराजका लगानीकर्तालाई सेवा पुयाउने, आइपीओमा आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने, क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने र लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्ने जस्ता कार्यक्रमले पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने र सम्पूर्ण प्रणालीलाई मजबुत बनाउने कुराको सुझाव समेत दिएका छन् ।
लगानीकर्ताका संघ–संगठनका तर्फबाट नवनियुक्त सीईओ तथा सिडिएससीलाई आगामी दिनमा अझ प्रभावकारी कार्य सम्पादन गर्दै, नेपालका लाखौं लगानीकर्ताका अपेक्षालाई सम्बोधन गर्दै जान समेत लगानीकर्ताहरुले सुझाव दिएका छन् ।