काठमाण्डौ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ३३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनका अनुसार आव २०८०/८१ को ७ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो ।
गत वर्षको तुलनामा धितोपत्र बजार पूँजीकरण ७.८६ प्रतिशतले वृद्धि भएको छ । २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।
बजार पुँजीकरणसँगै नेप्से सूचकाङ्क समेत वृद्धि भएको छ । गत वर्षको माघ मसान्तसम्म २१०१.१६ विन्दुमा रहेको नेप्से सूचकाङ्क चालु आवको माघ महिनासम्म २१२१.८७ कायम भएको छ ।
त्यस्तै, २०८० माघ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।