काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको छ। उक्त सभा असार ३० गते बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि आयोजना हुनेछ । उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि( वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै बोनस सेयर वितरणपश्चातको हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
सभामा ३ जना संस्थापक, २ जना सर्वसाधारण र एकजना स्वतन्त्र सञ्चालक मनोनित गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।