काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु,आँवुखैरेनी गाउँपालिकाका सबै वडा,भानु नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७)का स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा भदौ २० गते बैंकिङ समयपछि हुनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बन्दीपुर केवुलकारको काठमाण्डौ कालिमाटी कार्यालय,बन्दीपुर केवलकारको तल्लो स्टेशन,आँबुखैरेनी गाउँपालिकाको कार्यालय,भानु नगरपालिकाको वडा न.१ को कार्यालय र पालुङटार नगरपालिका वडा न. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि जारीपूँजीको १८.७०७६ प्रतिशत अर्थात ५२ लाख ९४ हजार कित्ता सेयर जारी गर्नेछ ।