काठमाण्डौ । पूँजी वृद्धिका लागि पुराना ३० वटा ब्रोकरहरुलाई अब ९ महिना हाईसञ्चो हुने भएको छ । ब्रोकरहरुले पूँजी वृद्धिका लागि २ वर्षका समय माग गरेकामा अर्थ मन्त्रालयले ९ महिनाको समय दिएको हो ।
अर्थ मन्त्रालयले आज धितोपत्र बोर्डले तयार पारेर पठाएको फाइललाई सदर गर्दै ब्रोकरहरुलाई आगामी चैत्र मसान्तसम्म पूँजी वृद्धि गर्न समय दिएको छ । धितोपत्र बोड स्थित स्रोतले दिएको जानकारी अनुसार मन्त्री स्तरिय निर्णयबाट भएको निर्णयअनुसार अब आगामी चैत्रसम्म ब्रोकरहरुले तोकिएको २० करोड पूँजी पुर्याउनु पर्नेछ ।
हाल नेप्सेमा सूचिकृत ९२ वटा ब्रोकरहरु मध्ये अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् ।
बाँकी रहेका ब्रोकरहरुलाई पूँजी बढाउन दिइएको समय सीमा यहि असारमा सकिदै छ । धितोपत्र दलाल व्यबसायीहरुले धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए । हाल ब्रोकरहरुले धितोपत्र बोर्डले समयमा नै मर्जरको निर्देशिका नल्याएका कारण आफूहरुले समयमै मर्जरको प्रक्रिया टुङ्ग्याउन नसक्ने बताउँदै आएका थिए।
हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त अब पुराना ३० वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                