काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा दैनिक उच्च कारोबार हुने गरेको छ । लामो समयको साइड वेज चलेको बजारमा रौनक फर्किदा कारोबार रकम वृद्धि भईरहेको छ ।
आज सेयर बजारमा २० अर्ब ८ करोड बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनपनि बजारमा १६ अर्ब ३२ करोड बढीको कारोबार भएको थियो । आइतबारको कारोबारमा पनि २१ अर्ब ३२ करोड बढीको कारोबार भएको थियो । गत बिहिबार पनि १६ अर्ब ५९ करोड बढी र बुधबार १४ अर्ब ३ करोड बढीको सेयर कारोबार भएको थियो । यसरी पछिल्लो समय बजारमा निरन्तर उच्च कारोबार भईरहेको छ ।
राष्ट्र बैंकको लचिलो मौद्रिक नीति, बैंहहरुको ब्याजदर घट्दै जानु र देशको समग्र अर्थतन्त्रमा देखिएको सुधारका कारण नयाँ, पुराना र संस्थागत लगानीकर्ता बजार प्रवेश गरेका छन् । जसका कारण कारोबार रकम दैनिक वृद्धि भईरहेको छ ।
कारोबारका साथै परिसूचक पनि बढेसँगै ब्रोकरहाउसहरुमा एकाएक महोल फेरिएको छ । अहिले ब्रोकरहाउसहरुमा मात्रै नभएर पुतलीसडक र टुकुचा आसपासका चिया पसलहरुमा पनि लगानीकर्ताहरु चिया पिर्उँदै ल्यापटप खोलेर सेयर कारोबार गरेको भेटिन्छन् ।
नयाँ गभर्नरको आगमनसँगै राष्ट्र बैंकले पूँजीबजारसँग सम्बन्धित केही लचिलो मौद्रिक नीति अपनाएपछि ब्रोकरहाउसहरुको माहोल यसअघि नेप्से परिसूचक ३२ सय विन्दुमा पुगे जस्तै देखिन थालेको छ । ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुमा पनि उत्साह छाएको छ ।
कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा भेटिएका एक लगानीकर्ता सानुकाजी महर्जनले पनि आज बजारले २९ सय २९ को बिन्दु पार गरेको कारण अब सेयर बजारले अल टाइम हाइ ब्रेक गर्ने तर्क गरे । अहिले सेयर बजारमा साना ठूलादेखि संस्थागत लगानीकर्ताहरुले एकैपटक खरिद बढाएका कारण आजबाट हाई क्याप र मिड क्याप बढेको उनले बताए । उनले थप्दै भने ‘अब भने साच्चिकै बजारमा रौनकता आयो । अब बजारले जसरी पनि नयाँ उचाई लिन्छ ।’
भिजन सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ३४ का सञ्चाकल राजकुमार तिमिल्सिना साउन महिना लागे सँगै नयाँ र संस्थागत लगानीकता आक्रामक रुपमा बजार पसेको बताउछन् । तिमिल्सिनाले आफ्नो ब्रोकरमा नयाँ र संस्थागत लगानीकर्ताहरुले खरिद गरेको कारण नै धेरै जस्तो खरिद चाप रहेको बताए ।
त्यसैगरि राजधानीकै अर्को एक ठूलो मध्येको ब्रोकरले पनि पछिल्लोपटक संस्थागत सँगै नयाँ लगानीकर्ताहरु बजार पसेको बताए । बानेश्वरमा रहेको अर्को एक ठूलो ब्रोकर नागरिक स्टक डिलरलेमा पनि आज नयाँ लगानीकर्ताको बाक्लो उपस्थिती रहेको थियो । यसै ब्रोकरमा भेटिएकि एक महिला लगानीकर्ता पनि पछिल्लो समय बजारमा चमक आएर्सँगै आफू पनि बजार प्रवेश गरेको प्रतिक्रिया दिइन् ।
बजारमा संस्थागत लगानीकर्ता छिरेको हुन सक्नेमा आजका शीर्ष १० ब्रोकरको कारोबारले पनि थप पुष्टि गर्छ । आजका शीर्र्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरहरुबाट उच्च मात्रामा खरिद भएको छ । जसमा एक ठूलो ब्रोकर नासाले एक अर्बको खरिद गर्दा एक अर्बको नै बिक्री गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                