काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थानमा सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म आफ्ना प्रमुख वित्तीय सूचकहरुमा प्रगति गरेको हो । संस्थाले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था २० लाख बढी घाटा व्यहोर्न बाध्य थियो ।
यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ५८.४९ प्रतिशतले बढ्दै ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत ५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४० करोड ९७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २४ करोड १८ लाखमा सीमित थियो ।
यो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज ३० लाख ३३ हजार रुपैयाँले रिभर्सल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले रिभर्सल चार्जका लागि २ करोड ४३ लाख रुपैयाँ छुट्टाएको थियो ।
अघिल्लो आवमा ६५ लाख ४६ हजार रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ ६ करोड ३१ लाख रुपैयाँले धनात्मक भएको छ । यस्तै रिजर्भको आकार ९ करोड ७१ लाखबाट बढेर ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ । संस्थाले सेयर प्रिमियम शीर्षकमा ४ करोड ५५ लाख छुट्टाएको छ ।
ग्राहकहरुबाट १ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात ३.४९ प्रतिशतबाट बढेर ५.३३ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस्तै वितरणयोग्य प्रतिसेयर आम्दानी १९.७६ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२८.७० रुपैयाँ,मूल्य आम्दानी अनुपात ३५.३८ गुणा,प्रतिसेयर नेटवर्थ १४८.१६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७७८.९५ रुपैयाँ र तरलता अनुपात १३.४३ गुणा कायम भएको छ ।