काठमाण्डौ । गत असार १५ गतेदेखि निरन्तर उकालो लागेको बजार ठीक एक महिनापछि आज ठूलो अंकले घटेको छ । अघिल्लो कारोबारमा ४ वर्षपछि कै उच्च विन्दुमा पुगेर बन्द भएको बजार लामो समय ३ हजार माथि भने टिक्न सकेन । आइतबारको कारोबारमा पनि बजारमा लामो समयपछि उच्च कारोबार गरेको थियो ।
आइतबार साढे २६ अर्बको सेयर कारोबार भएको थियो । त्यसपछि कारोबार क्रमशः घट्दै गएको बजारमा आज एकाएक ठूलो अंकको गिरावट आएको छ ।
बजारमा एकाएक ठूलो गिरावट आएपछि आज लगानीकर्ताहरुमा अन्यौलता छाएको छ । आज बजार खस्नुमा विभिन्न लगानीकर्ताहरुको आ–आफ्नै तर्क रहेका छन् । केहीले आइजिनको विषयले बजार खस्न पुगेको तर्क गरेका छन् भने केहीले नाफा बुकका कारण आजको बजारको घटाई स्वभाविक भएको बताएका छन् ।
अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन ‘आजको घटाई विशुद्ध नाफा बुक हो । बजारले ठूलो उचाई लिनु भन्दा पहिले पुल ब्याक लिने गर्छ । बजारले धेरै आत्तिनेहरुलाई छाडेर अघि बढ्छ । मेरो बिचारमा ३२ सयको विन्दु तोड्नका लागि बजार तल आएको हो । जुलाइ अगष्टको सिजनमा केहीले नगद व्यबस्थापन पनि गर्ने गर्छन् । पोर्टफोलियोको ३० प्रतिशत सेयर ट्रेड गर्ने गर्छन ।’
पौडेल थप्छन्, ‘आज बजार घट्नुमा आइजिनको विषय भन्दा पनि धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा बैंक इन्टिग्रेसन गरेर मात्र सेयर कारोबार गर्ने विषय हुनसक्छ । यहि कारण ब्रोकरहरुले पनि उधारो कारोबार गर्नेहरुको लागि दबाब दिएका हुन सक्छन् ।’ १८ सयको विन्दुमा पसेकाहरुलाई नाफा भएको कारण नाफा बुक भएको पौडेलल बताए ।
आइजिनको विषयमा सीडीएससीकी प्रबन्ध सञ्चालक प्रविन पन्दाकले आइतबारको सञ्चालक समितिको बैठकले कम्पनीहरुले प्रबन्धपत्र तथा नियामावलीमा प्रस्ताव गरेअनुसार हुने निर्णय भएको बताइन ।
‘हामीले अहिलेसम्म प्रष्ट नभएको विषयलाई पष्ट पार्ने खोजेका मात्रै हौं । कुनै कम्पनीलाई २ वटा र कुनै कम्पनीलाई एउटा आइजिन दिने ब्यबस्था रहेको थियो । अब यो ब्यबस्थाले लुकिछिपि लकिङ नखुल्दै संस्थापक र सर्वसाधारण सेयर मिसाएर सेयर बेच्ने गलत काम बन्द हुनेछ ।’
पन्दाकले यो विषयले सेयर बजार तरंगित हुनुपर्ने कुनै कारण नरहेको समेत दावी गरिन् । ‘यो निर्णय आइतबार नै भएको हो । आज आएर सेयर बजार किन घट्यो त ?’ पन्दाकले प्रतिप्रश्न गरिन् । धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले सीडीएससीबाट आइजिनको विषयमा एक निर्देशिका आएको र यस विषयमा अध्ययन भईरहेको जानकारी दिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                