काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा र खुद बीमाशुल्क आर्जन बढेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म १२ लाख ७५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७९.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ७ लाख १० हजार रुपैयाँबराबरको खु्द नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले ५ करोड ६७ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०९८.६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४७ लाख ३० हजार रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी पनि १०७.३१ प्रतिशतले बढेर १२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुल खर्च समेत बढेको छ । अघिल्लो आवसम्म ५ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १२ करोड २ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको दाबी भुक्तानी पनि २७ लाख ३१ हजारबाट बढेर २ करोड ६ लाख पुगेको छ ।
कम्पनीको महाविपत्ती कोषको आकार २ लाख ३१ हजार र रिटेन्ड अर्निङको आकार ५ लाख ३३ हजार रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.२४ रुपैयाँ रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि छ्ट्टाइएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले २०८१ असोज २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।