काठमाण्डौ । अघिल्लो साताको मंगलबार नेप्से परिसूचक ३ हजार २ विन्दुमा बन्द भएको थियो । त्यसको एक सातापछि अर्थात आजसम्म आईपुग्दा नेप्से परिसूचक २ हजार ८३४ विन्दुमा बन्द भएको छ । यस हिसाबले पाँच कारोबारको यो अवधिमा नेप्सेमा १७० अंकको गिरावट आएको छ ।
यो बीचमा बजार एक दिन अर्थात साउन १९ गते मात्रै बढ्यो ।
नयाँ आर्थिक वर्ष लागे सँगै बजारमा नयाँ गति देखिएको थियो । बजार पूँजीकरण ५० खर्ब माथी पुगेको थियो । जलविद्युत र विकास बैंक समूहले नयाँ उचाई चुमेका थिए । एकै दिन नेप्सेमा हालसम्मकै दोस्रो ठूलो अर्थात साढे २६ अर्बको सेयर कारोबार भएको थियो । यस अघि गत वर्ष साउन ३० गते २९ अर्ब ९५ करोडको सेयर कारोबार पछिको यो ठूलो कारोबार हो ।
तर सेयरबजारको यो वृद्धि लामो समय भने टिक्न सकेन । यो सँगै बजार घट्नुको विषयमा लगानीकर्ताले विभिन्न अड्कलबाजी गर्न थालेका छन् । केहीले बजारमा पछिल्लोपटक सीडीएससीले ल्याएको आईजीनको विषयले बजार घटेको तर्क गरेका छन् । केहीले भने नियामक निकायहरुले सेयर खाता खोल्न राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको विषयले समेत बजार घटेको तर्क गरेका छन् । उनीहरुका अनुसार यस विषयले सेयर बजारमा नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा बजार पस्न रोक्ने भएकाले बजारमा गिरावट आएको छ ।
पूँजीबजारमा राष्ट्रिय परिचय पत्रलागू भएसँगै अब अरुको नामबाट सेयर कारोबार गर्ने काराबारी निरुत्साहित हुने र बजार प्रभावित हुने तर्क गर्नेहरु पनि छन् । तर यसो मान्न नियामक निकाय भने तयार छैनन् । नेपाल स्टक एक्सचेञ्जनका प्रवक्ता मुराहरी पराजुलीले राष्ट्रिय परिचय पत्रको कारण बजार घटेको भन्ने विषय ठाडै अस्विकार गरे । राष्ट्रिय परिचय पत्रको कारण बजार घट्यो भन्नु कुतर्क रहेको र यस विषयमा नेप्सेको कुनै पनि भनाई नरहेको प्रबक्ता पराजुलीले बताए ।
प्रवक्ता पराजुलीले पूँजीबजारमा राष्ट्रिय परिचय पत्र सरकारको वृहत योजना अन्तर्गत देशलाई ग्रेलिष्टबाट निकाल्न पूँजीबजारमा पनि लागू गरिएको बताए । ‘यो एउटा ग्राहक चिन्ने आइडेन्टिफिकेसन नम्बर हो । यो नै लगानीकर्ताहरुको युनिक आइडी पनि हुन सक्छ,’ उनले भने, ‘भुटान र भारतमा प्यान नम्बर र युनिक आइडी रहेको छ ।’ यसको काम राष्ट्रिय परिचय पत्रले गर्ने पनि पराजुलीको तर्क छ ।
त्यसैगरि बजारमा केही लगानीकर्ताहरुले अहिले बजार घट्नुमा नियामक निकाय सीडीएससीले प्रस्ताव गरेको आईजीनको विषयलाई पनि दोष दिएको पाइन्छ । अघिल्लो साता मात्रै सीडीएससीले संस्थापक र सर्वसाधारण समूहको लागि फरक–फरक आईजीनको प्रस्ताव धितोपत्र बोर्डमा पठाएको थियो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले पनि आईजीनको विषयले बजार तरंगित हुनु पर्ने कुनै कारण नरहेको बताउँछन् ।
बजारमा केही जानकारहरुले अहिले बजार घट्नुको मुख्य कारण लगानीकर्ताहरु नै रहेको बताउछन् । आज सनी सेक्यूरिटिजमा भेटिएका एक लगानीकर्ताले भने ‘अहिले बजारमा ७२ घण्टे लगानीकर्ताहरु बढी हाबी छन् । उनीहरुले उधारोमा कारोबार गर्छन र ब्रोकरहरुले दबाब दिएकै कारण घाटामा नै सेयर बेचेको कारण अहिले बजार घटेको हो ।’