काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६४ प्रतिशत अर्थात १८.३० अंकले बढेर २ हजार ८५०.३७ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ४९०.१६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘बजारमा प्यानिक सेल सकिएर बिस्तारै अप ट्रेण्ड चलिरहेको देख्न सकिन्छ । आज बजार बढेर बन्द हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । यो साता उधारो कारोबार गर्नेहरुका लागि भने केही पिडादायी पनि रह्यो ।’
यद्यपी आगामी साताबाट बजारले युटर्न लिनेमा लम्साल ढुक्क देखिए ।
नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरेले पनि यो साता आत्तिएर सेयर बेच्नेहरुका कारण बजारमा केही बिक्री दबाब आएको बताए । तर अन्तिम कारोबारमा भने साताको सुखद अन्त्य भएको उनले बताए ।
‘बजार अब यहीबाट फर्किएर ३ हजारको प्रतिरोधलाई ब्रेक गरेर ३२ सय विन्दु कट्न सक्छ । त्यसैले धैर्यवान लगानीकर्ताले बजारबाट राम्रो आर्जन गर्न सक्ने सम्भावना देखिन्छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.३९ प्रतिशतले बढ्यो ।
यस्तै आज बैंकिङ समूह ०.५४ प्रतिशत, विकास बैंक ०.६२, होटल ०.४७, हाईड्रो ०.७८, लगानी ०.३३, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन १.१५, लघुवित्त ०.३७,म्युचुअल फण्ड ०.३५, निर्जीवन बीमा ०.४७, अन्य १.०१ र व्यापार समूह १.१३ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन लिबर्टी इनर्जीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३९ करोड १ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै शिवम् सिमेन्टको ३६ करोड ९३ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड २८ लाख, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ८७ लाख र युनाइटेड मोदी हाईड्रोको २० करोड ९२ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । सिक्लेस हाईड्रोपावर र बरुण हाईड्रोपावरको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।
मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्य आज ७.५६ प्रतिशत,खानीखोला हाईड्रोको ६.१९ र लिबर्टी हाईड्रोको सेयरमूल्य ५.७२ प्रतिशतले बढ्यो ।
उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज ८.२६ प्रतिशतले ओरालो लाग्यो । समाज लघुवित्तको सेयरमूलय पनि आज ५.४२ प्रतिशत र सान्भी इनर्जीको सेयरमूल्य २.७१ प्रतिशतले खस्कियो ।