काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट ३८ करोड ८३ लाख आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड ५३ लाख कमाएको थियो । कम्पनीले यो अवधिमा १ करोड ७९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च ५ करोड ७९ लाख र मर्मत तथा सम्भार खर्च भने २ करोड १९ लाख रहेको छ । यस्तै कम्पनीको वित्त खर्च १३ करोड ३७ लाख रहेको छ । अघिल्लो आवमा भने वित्त खर्च १४ करोड १७ लाख रहेको थियो ।
१ अर्ब १२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १० करोड ८ लाख र कुल चालु दायित्व ८ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५.३५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०९.३७ रुपैयाँ,र तरलता अनुपात १.१७ गुणा कायम भएको छ ।