काठमाण्डौ । सुनसरी मोरङ औद्योगिक करिडरको निकै पुरानो र स्थापित उद्योग एशियन थाई फुड्स लिमिटेडले पनि आईपीओ निश्कासन गर्ने भएको छ ।
रमपम चाउचाउबाट आफ्नो अलग्गै ब्राण्ड बनाएको यो उद्योगले पनि आईपीओ निश्कासनको तयारी सुरु गरेको हो । जसअनुसार मंगलबार कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्दै सो सम्बन्धी सम्झौता समेत गरेको छ ।
यो सम्झौताले एशियन थाई फूड्स लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग हुने जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्झौतामा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा(अध्यक्ष), महेश जाजु(प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक)ले हस्ताक्षर गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो ।
हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्रबोर्डबाट अनुमतिप्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
एशियन थाई फूड्सले एफएमसीजी प्रडक्ट्स अन्तर्गत चाउचाउ तथा स्न्याक्सका विभिन्न आइटम उत्पादन गर्दै आइरहेको छ । यो उद्योगका उत्पादन हाल ३० भन्दा बढी देशमा निर्यात हुने गरेको छ । एशियन थाई फूड्सका प्रमुख प्रडक्टहरुमा रमपम, टू पिएम तथा प्रीति चाउचाउ रहेका छन् ।