काठमाण्डौ । अपि पावर कम्पनीले विद्युत उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले दिव्य ज्योति हाइड्रोपावर प्रालिलाई प्राप्ति गर्ने भएको हो ।
अपि पावरले सो कम्पनीले प्रवद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने जनाएको छ ।
लमजुङ्ग जिल्लामा प्रवद्र्धित ५० मेगावाट क्षमताको मस्र्याङ्गदी बेसी जलविद्युत आयोजनाको आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट आयोजना निर्माण तथा संचालन गर्न मनासिब देखिएको हुँदा उक्त कम्पनी दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड कम्पनी प्राप्ती गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
उक्त कम्पनीमा विद्यमान शेयरधनीहरुको सम्पूर्ण शेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गरी कम्पनी व्यवस्थापन पूर्ण रुपमा अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहनेगरी कम्पनी संचालन गर्ने भएको छ ।
साथै अपि पावर कम्पनीले उक्त दिव्य ज्योति हाइड्रोपावर प्राप्ती गर्नको लागि पूर्ण अधिकार सहित कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेलाई पक्षहरु बिच गर्ने करारनामाको मस्यौदा तथा शर्तहरु निर्धारण गर्ने तथा करारनामामा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।