काठमाण्डौ । प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धकहरूको रिहाइका लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको छ। इजिप्ट र कतारको यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुनमा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ ।
यो योजना अनुसार पहिलो ६० दिन युद्धविराम लागू हुनेछ । यसपछि हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्नेछ। तीमध्ये २० जना जीवित रहेको बताइएको छ । त्यसपछि स्थायी युद्धविरामको वार्ता अघि बढ्नेछ ।
तर, इजरायलको प्रतिक्रिया भने आएको छैन । गत हप्ता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘सबै बन्धकहरूलाई एकैपटक रिहा गरेमा मात्रै कुनै पनि सम्झौता स्वीकार गर्ने’ बताएका थिए।
हमासको सहमतिको रिपोर्टको बीचमा जारी गरिएको भिडियोमा नेतान्याहूले सीधा टिप्पणी गरेनन्।
उनले भनेका छन्, ‘यसले तपाईलाई एउटा मात्र प्रभाव दिन्छ, हमास धेरै दबाबमा छ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                