काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिक अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएसँगै विश्वकै मूल्यवान् सार्वजनिक कम्पनीमध्ये एक बनेको छ। कम्पनीको बजार मूल्य करिब १.७६ ट्रिलियन अमेरिकी डलर पुगेको छ।
कम्पनीले प्रतिकित्ता ८३ डलरमा सेयर निष्कासन गरेकोमा कारोबार सुरु भएपछि मूल्य बढेर १११.५३ डलरसम्म पुगेको थियो। यसले कम्पनीको बजार मूल्य झन्डै २ ट्रिलियन डलर पुर्याएको थियो। तर, कारोबारको अन्त्यमा सेयर मूल्य घटेर ९७.१७ डलरमा बन्द भयो।
एन्थ्रोपिकको सेयर कारोबार सुरु भएकै दिन करिब १७ प्रतिशतले बढे पनि समग्र प्रविधि क्षेत्रको बजार भने ओरालो लाग्यो। नास्डाक कम्पोजिट सूचकांक २.३ प्रतिशतले घट्दा गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर २.९ र अमेजनको ३.९ प्रतिशतले घट्यो।
एआई प्रविधिको विकासमा केही ठूला प्रविधि कम्पनीले पछिल्लो एक वर्षमा मात्रै एक ट्रिलियन डलरभन्दा बढी लगानी गरेका छन्। यसले प्रविधि क्षेत्रमा कृत्रिम मूल्यवृद्धि अर्थात् ‘बबल’ सिर्जना हुन सक्ने चिन्ता बढाएको छ।
पाँच वर्षअघि स्थापना भएको एन्थ्रोपिक लोकप्रिय एआई च्याटबट ‘क्लाउड’ निर्माण गर्ने कम्पनी हो। एआईमा केन्द्रित रहेर सेयर बजारमा प्रवेश गर्ने पहिलो कम्पनी भएकाले यसको सेयर मूल्यमा आगामी दिनमा ठूलो उतारचढाव आउन सक्ने विश्लेषकहरूको भनाइ छ। स्पेसएक्सको सेयर पनि कारोबार सुरु हुँदा तीव्र बढेपछि एक महिनाभित्रै निष्कासन मूल्यभन्दा तल झरेको उदाहरण उनीहरूले दिएका छन्।
कम्पनीको भविष्यलाई एआईसम्बन्धी सरकारी नियमनले समेत प्रभावित पार्न सक्ने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईमा कडा नियमनको विरोध गरेका छन् भने अमेरिकी सांसदहरूको द्विदलीय समूहले एआई सुरक्षा र नियमनसम्बन्धी काम गर्न छुट्टै संसदीय समूह गठन गरेको छ।
एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोडेईले भविष्यमा एआई मानव क्षमताभन्दा शक्तिशाली भएर मानव अस्तित्वमै जोखिम निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन्। कम्पनीकी अध्यक्ष डानिएला अमोडेईले पनि एआईमा वास्तविक जोखिम रहेको बताउँदै पहिलो उत्पादन सार्वजनिक गर्नुअघि नै सुरक्षा टोली गठन गरिएको जानकारी दिएकी छन्।
एन्थ्रोपिकको ऐतिहासिक बजार प्रवेशले एआई क्षेत्रप्रति लगानीकर्ताको आकर्षण देखाए पनि यसको वास्तविक व्यावसायिक मूल्य र दीर्घकालीन सम्भावनाबारे भने अझै अनिश्चितता कायम छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।