काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढेको अनिश्चितताका कारण लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित भएपछि अमेरिकी डलर १९ महिनायताकै उच्च विन्दु नजिक पुगेको छ। डलर लगातार आठ कारोबार सत्रदेखि बलियो बन्दै आएको छ।
शुक्रबार डलर सूचकांक १०३.९ को आसपास पुगेको छ। यो सन् २०२५ अप्रिलयताकै उच्च स्तर हो। यससँगै डलर लगातार चौथो साता पनि बढ्ने क्रममा छ। नोभेम्बर १० मा सार्वजनिक भएको अपेक्षाभन्दा उच्च अमेरिकी मुद्रास्फीति तथ्याङ्कले फेडरल रिजर्भले ब्याजदर बढाउने अनुमानलाई बल पुर्याएको छ। बजारले डिसेम्बरमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर वृद्धि हुने सम्भावना देखेको छ।
एआई कम्पनी एन्थ्रोपिकको ऐतिहासिक सेयर निष्कासनले समेत लगानीकर्ताको मनोबल बढाउन नसक्दा अमेरिकी सेयर बजारमा गिरावट आएको छ। बिहीबार नास्डाकमा सूचीकृत एन्थ्रोपिकको बजार मूल्य करिब २ ट्रिलियन डलर पुगेको थियो, जुन स्पेसएक्सको जुन महिनाको सूचीकृत मूल्यभन्दा बढी हो। यसले एआई कम्पनीहरूको उच्च मूल्याङ्कन र वित्तीय जोखिमबारे चिन्ता थपेको विश्लेषकहरूको भनाइ छ।
शिकागो फेडका अध्यक्ष अस्टन गूल्सबीले मुद्रास्फीति स्वतः २ प्रतिशतको लक्ष्यमा फर्किने संकेत नदेखिएको र एआई प्रविधिको विस्तारले मूल्यवृद्धिको दबाब थप बढाउन सक्ने बताएका छन्। यसैबीच, अमेरिकी १० वर्षे ट्रेजरी बन्डको प्रतिफल घटेर ५.०१६ प्रतिशतमा झरेको छ।
मुद्रा बजारमा जापानी येन डलरको तुलनामा ०.१ प्रतिशतले बढेर १५९.५० मा पुगेको छ। जापानको वार्षिक आधारभूत मुद्रास्फीति अक्टोबरमा २.२ प्रतिशत पुगेको छ, जुन लगातार दोस्रो महिना केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि हो।
बेलायती पाउन्ड एक वर्षयताकै न्यून स्तर नजिक १.३०९४ डलरमा कारोबार भएको छ। युरो १.०९७२ डलरमा झरेको छ भने अस्ट्रेलियाली डलर पनि एक वर्षयताकै न्यून ०.६६४७६ डलरको स्तर नजिक पुगेको छ।
यता, चीनको अपतटीय युआन रातारात ०.४ प्रतिशतले कमजोर बनेको छ। चीनले भने लगातार १८औँ महिनासम्म प्रमुख ऋण ब्याजदर यथावत् राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।