काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७७ प्रतिशत अर्थात २१.३० अंकले बढेर २ हजार ७६१.२६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४७४.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘लामो समयपछि बढेको बजारलाई कमब्याकको रुपमा लिन सकिन्छ । अब बजार सानो–सानो मुभ लिँदै अघि बढ्छ । चाडपर्वको अन्त्यसम्म भने बजारमा ठूलो बढोत्तरीको अपेक्षा भने गर्न सकिदैन ।’
उनले आज बजार बढ्दा कारोबार घट्नुलाई लगानीकतार्नमा मनोबलको कमी भएको भन्न सकिने बताए । राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा गरेको सकारात्मक व्यवस्थाका कारण समेत आज बजारमा सुधार आएको दाबी गरे ।
अर्का बजार जानकार सुवासचन्द्र ढु्ङ्गानाले बजार सपोर्ट जोनबाट फर्किएको बताए । यद्यपी बजारले अप ट्रेण्ड नै लियो भन्नका लागि भने २० दिनको औषत कारोबार साढे ९ अर्ब माथि भएर बजार २७८० विन्दु भन्दा माथि टिक्नु पर्ने बताए ।
‘घट्दो बजारमा कारोबार पनि घट्नुलाई सामान्य नै मान्न सकिन्छ,’ उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छायो । अन्य समूह आज सर्वाधिक अर्थात २.७९ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.६१, विकास बैंक १.१०, फाइनान्स ०.३०, होटल ०.५३, हाईड्रो ०.३८, लगानी ०.३८, जीवन बीमा ०.६९, लघुवित्त १.५९, निर्जीवन बीमा ०.४४ र व्यापार समूह ०.०८ प्रतिशतले बढ्यो ।
म्युचुअल फण्ड समूह र उत्पादन तथा प्रशोधन समूह आज क्रमशः ०.३४ र ०.०५ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७६ करोड ९६ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २३ करोड ३९ लाख, हिमालयन डिष्ट्रिलरीको २० करोड ६६ लाख, राधी विद्युतको १७ करोड ७१ लाख र छिमेक लघुवित्तको १७ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज नारायणी डेभलपमेन्ट बैंक र विकाश हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
साना किसान विकास लघुवित्तको सेयरमूल्य पनि आज ५.२६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ५.१० र महुली लघुवित्तको सेयरमूल्य ४.४८ प्रतिशतले बढ्यो ।
यो दिन सिक्लेस हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.५४ प्रतिशतले घट्यो । सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य पनि आज ३.५० प्रतिशत र खानीखोला हाईड्रोको सेयरमूल्य २.६३ प्रतिशतले घट्यो ।