काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ‘Pre-IPO’ को नाममा सेयर बिक्री नगर्न तथा नगाराउन सर्वसाधारणलाई कडा चेतावनी दिएको छ। पछिल्लो समय विभिन्न संगठन तथा संस्थाहरुले सामाजिक सञ्जाल (WhatsApp, Viber, Facebook Group), ईमेल र एसएमएसमार्फत भविष्यमा सार्वजनिक निष्कासन हुने भन्दै सेयर खरिद गर्न आग्रह गरी अवैध रूपमा पैसा उठाउने घटना देखिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार यसरी अनधिकृत रूपमा रकम संकलन गरी सेयर बिक्री वितरण गर्ने कार्य पूर्ण रूपमा गैरकानूनी हो। हालै बोर्डमा यस सम्बन्धमा गुनासो समेत दर्ता भएको र यस्तो गतिविधि तत्काल रोक्नका लागि लगानीकर्तालाई सचेत गराइएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा Pre-IPO नामक कुनै व्यवस्था नरहेको स्पष्ट पार्दै बोर्डले सार्वजनिक निष्कासन नगरेसम्म कुनै पनि संगठन वा संस्थाले सेयर खरिद–वितरण गर्न नपाउने जनाएको छ। बोर्डको पूर्वअनुमति बिना गरिने यस्तो कार्य ऐन विपरीत भएकाले यसमा संलग्न हुने कार्य नगर्न तथा नगाराउन बोर्डले जोड दिएको छ।
लगानीकर्तालाई आकर्षित गर्न ‘Pre-IPO’ नाम प्रयोग गरी भइरहेको भ्रामक प्रचारप्रति बोर्डले गम्भीर ध्यानाकर्षण गराउँदै यस्तो कार्यमा संलग्न नहुन र अरुलाई पनि नगराउन आग्रह गरेको छ।
बोर्डले भनेको छ, ‘‘सार्वजनिक निष्कासन नगरेका सेयर खरिद/वितरण गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरिन्छ। यस किसिमको अवैध कार्य कानूनी कारबाहीको दायरामा पर्छ।’’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                