काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.९१ प्रतिशत अर्थात ५३.०१ अंकले बढेर २ हजार ८१९.१० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले बढेर ४८३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे सक्रिय लगानीकर्ता गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘बजार घटबढ स्वभाविक नै हो । लामो समयसम्म घटेको बजारमा आज बाउन्स ब्याक आएको छ । कारोबार पनि ड्राई अप भएकाले बजार बढ्ने अपेक्षा लगानीकर्ताको थियो । बढ्दो बजारमा कारोबार बढ्नुलाई पनि स्वभाविक मान्न सकिन्छ ।’
उनले आजको बढोत्तरीले केही समय निरन्तरता पाउने सक्ने आँकलन समेत गरे ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले अघिल्ला कारोबारहरुमा घट्न रोकिएको बजारले आज दिगो बढोत्तरीलाई संकेत गरेको बताए । अल्पकालिन कारोबारहरु बजार प्रवेश गरेका कारण र खरिद गर्ने लगानीकर्तामा मनोबल बढ्दा आज बजारमा सुधार आएको उनको भनाई छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । विकास बैंक समूह आज सर्वाधिकअर्थात ३.५९ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह १.५१ प्रतिशत,फाइनान्स २.१५,होटल १.७१, हाईड्रो २, लगानी २.३८, जीवन बीमा २.३९, उत्पादन तथा प्रशोधन २.७४, लघुवित्त १.२५, म्युचुअल फण्ड ०.६२, निर्जीवन बीमा १.७२, अन्य २.२१ र व्यापार समूह २.८७ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ४२ लाख बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ५० करोड ५२ लाख, ग्रीन भेन्चर्सको ४६ करोड ५३ लाख, हिमालयन डिष्ट्रिलरीको ४३ करोड ४० लाख र नेपाल रिपब्लिक मिडियाको २१ करोड १२ दाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । १० प्रतिशतले सेयरमूल्य बढेको विकास हाईड्रोमा आज अपर सर्किट लाग्यो ।
समता घरेलु लघुवित्तको सेयरमूल्य पनि आज ९.३६ प्रतिशत, ग्रीन भेन्चर्सको ८.०८,क्रेष्ट माईक्रो लाइफको ७.६० र गार्डियन माईक्रो लाइफको सेयरमूल्य ७.२८ प्रतिशतले बढ्यो ।
नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.२९ प्रतिशतले घट्यो ।