काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले करिब ८ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको ७ लाख ९४ हजार ९७१.१८७ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १००० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, र प्रभु बैंकको शाखा कार्यालयहरु विराटनगर, नेपालगञ्ज, पोखरा, सुर्खेत र धनगढी शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न सक्नेछन् । यस्तै नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रीय कार्यालय र बनेपा माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले भदौ २६ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।