काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी चैत १६ गते सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा संस्थाको संस्थापक सेयर।लाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश गर्ने र सोहि अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित हुनेछ । सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तलाई गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सोहि अवधिको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभाबाट संस्थापक सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयनलाई अनुमोदन गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुमात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।