काठमाण्डौ । पछिल्लो समय धमाधम विभिन्न कम्पनीको आईपीओहरु आउन थालेका छन् । नेपाल धितोपत्र बोर्डले एकपछि एक गर्दै पाइपलाइनमा रहेका कम्पनीहरुलाई प्राथमिक सेयर निष्कासनको अनुमति दिन थालेको छ ।
बोर्डले पाइपलाइनमा रहेका कम्पनीहरुको वित्तीय अवस्था हेरेर ९० रुपैयाँ भन्दा बढी नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओ निष्कासनको स्वीकृति दिन थालेको छ ।
एकपछि एक गर्दै विभिन्न सेक्टरका कम्पनीको आईपीओ आएपनि लगानीकर्ताहरुले १० कित्ता सेयर पाउन पनि भाग्यकै भर पर्नुपर्ने अवस्था छ । सिडिएस एण्ड क्लियरि लिमिटेडका अनुसार पछिल्लो समय जुनसुकै कम्पनीको आईपीओ खुलेपनि सर्वसाधारणतर्फ न्यूनतम २० लाख बढी आवेदकको आवेदन पर्ने गरेको छ ।
आईपीओमा आवेदनको ओइरो लाग्न थालेपछि अहिले कतिपय लगानीकर्ताहरुले त आइपीओ नै भर्न छाडेका छन् । सिडिएससीका अनुसार नेपालमा ५५ लाख भन्दा बढी डिम्याट खाता खुलिसकेका छन् । तीमध्ये ३० प्रतिशत भन्दा बढी खाताहरुमा एक कित्ता सेयर पनि छैनन्, जसलाई निष्क्रिय खाताको रुपमा हेर्न सकिन्छ ।
यसर्थमा १७ लाख भन्दा बढी डिम्याट खाताहरु निष्क्रिय छन् । आईपीओ नपरेपछि कतिपय लगानीकर्ताहरुले डिम्याट खाता र मेरो सेयर समेत नविकरण गर्न छाडिसकेका छन् ।
धमाधम आईपीओ खुलेपनि कित्ता संख्या थोरै हुने भएकाले सीमित लगानीकर्ताले मात्रै सेयर पाउने गर्छन् । आईपीओमा परेको आवेदन बमोजिम ५ वा १० प्रतिशत लगानीकर्ताले मात्रै सेयर पाउछन् भने ९० वा ९५ प्रतिशत आवेदकको हात खाली हुने अवस्था पछिल्लो समय छ ।
पछिल्लो समय कुनै पनि कम्पनीको आईपीओ खुलेको छ र तपाईले आफ्ना १० जना सदस्यीय परिवार सम्पूर्णको सेयर भर्नुभएको छ भने एक जनालाई मात्रै सेयर पाउने सम्भावना रहन्छ ।
तर नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा त्यस्ता कम्पनीहरु पनि छन्, जसमा ५० प्रतिशत अर्थात् १० लाख भन्दा बढी आवेदकलाई सेयर पर्ने सम्भावना छ । यसर्थमा तपाईले १० जना सदस्य रहेको परिवार सम्पूर्णको सेयरमा आवेदन दिनुभएको खण्डमा ५ जनालाई पर्ने सम्भावना देखिन्छ ।
बोर्डको पाइपलाइनमा १३ कम्पनी छन्, जसले एक करोड कित्ता भन्दा बढी आईपीओ निष्कासन गर्न लागेका छन् । जसमा हाइड्रो सेक्टरबाट सिउरी न्यादी पावर, सोलु हाइड्रोपावर, युनाइटेड मेवा खोला हाइड्रोपावर रहेका छन् भने उत्पादन तथा प्रशोधन सेक्टरबाट शुभश्री अग्नि सिमेन्ट उद्योग, जगदम्बा स्टिल्स लिमिटेड, महाशक्ति सिमेन्ट, सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, मारुती सिमेन्ट र अम्बे स्टिल्स रहेका छन् भने अन्य सेक्टरबाट डिस मिडिया नेटवर्क रहेको छ ।


                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                