काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले विषम परिस्थितिलाई ध्यानमा राख्दै बुधबार र बिहीबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का स्वीकृति लिएर नेप्सेले बुधबार र बिहीबारको सेयर कारोबार समेत बन्द गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले जानकारी दिए ।
'लगानीकर्ताहरु बाहिर निस्किने अवस्था छैन । ब्रोकरहरुको अवस्था पनि उस्तै छ । देश नै ठप्प भएको अवस्थामा सेयर बजार खोल्नु सान्दर्भिक देखेनौं ।' बिजशालासँग उनले भने-' यहीकारण आज र भोलिको कारोबार बन्द गर्ने निर्णयमा पुगेका हौं । हामी लगानीकर्तालाई घरमै सुरक्षित रहन समेत आग्रह गर्छौ।'
जेनजीको आन्दोलनमा सरकारले गरेको दमनपछि उत्पन्न असहज परिस्थितिका कारण मंगलबार पनि सेयर कारोबार बन्द गरिएको थियो ।
यसअघि स्टक ब्रोकर एशोसिएसनले समेत अवस्था सामान्य नहुञ्जेलसम्मका लागि कार्यालय नखोल्ने निर्णय गरिसकेको छ ।