काठमाण्डौ । जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल निकै कमजोर भएकै अवस्थामा चौतर्फी दवाबपछि खोलिएको सेयर बजार एकपछि अर्को गर्दै लगातार तीनवटा सर्किट लागेर केही मिनेटमै बन्द हुन पुगेको छ ।
कारोबार सुरु भएको २ मिनेटमे ४ प्रतिशतले, त्यसपछि सुचारु भएको बजार १ मिनेटमै ५ प्रतिशतले र त्यसको ४० मिनेटपछि पुनः खोलिएको बजार केही मिनेटमै ६ प्रतिशतले घटेपछि नेप्सेले नेगेटिभ सर्किट लगाएर आजका लागि कारोबार बन्द गरेको छ ।
साताको अन्तिम कारोबार दिन रहेकोले आज बजारका लगानीकर्ताबीच हाहाकार मच्चिएको छ । अधिकांश कम्पनीतर्फ खरीद गर्नेहरु कोही पनि थिएनन् । बिक्री गर्नेहरुको लर्को थियो।
यही दिन २२ वटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ भने १० वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।
यो दिन छोटो समयमा ७३ करोड हाराहारीमा सेयर कारोबार भयो भने २२६ कम्पनी कारोबारमा आएकोमा २१७ को मूल्य घटेको छ भने ९ कम्पनीको मात्र बढेको छ ।
रोचक त के भने अधिकांश कम्पनीका लगानीकर्ताहरु सम्पत्ति गुमाएर पुर्पुरोमा हात राखिरहेकै बेला हिमस्टार उर्जा कम्पनी लिमीटेडको मूल्यमा पनि पोजिटिभ सर्किट लागेको छ ।
आईपीओ सूचीकृतपछि केही दिनअघिदेखि कारोबार सुरु भएका कारण यो कम्पनीको मूल्य योजनाबद्ध रुपमा बढाइराखिएको थियो ।
आन्दोलनपछि बन्द भएको सेयर बजार आज खुल्दा समेत मूल्य बढाउने त्यो क्रम उस्तै रह्यो र अरु आफ्नो सम्पत्ति गुमाएर प्यानिक हुँदा हिमस्टारका लगानीकर्ता भने मख्ख देखिए ।
यसबाहेक अभियान लघुवित्त, रावा इनर्जीको मूल्य पनि २ प्रतिशतले बढ्न पुग्यो । नेशनल लघुवित्त, मेघा म्युचुअल फण्ड १, एशियन हाइडोपावर, सामुदायिक लघुवित्त, खानीहोला हाइडोपावरको मूल्य २ प्रतिशत हाराहारीमा बढ्यो ।
गणपति लघुवित्त र लक्ष्मी लघुवित्तको सेयरमूल्यमा झिनो मात्र बढोत्तरी भयो ।
यो दिन सबैभन्दा बढी व्यापार समूह ९.३४ प्रतिशतले घट्यो । इन्भेष्टमेन्ट, होटल तथा टुरिजम तथा अन्य समूहमा ७ प्रतिशतभन्दा बढीको गिरावट देखियो । निर्जीवन बीमा समूह ५.४२, बैंकिंग समूह ५.५२ प्रतिशत, विकास बैंक समूह ५.१३ प्रतिशतले घट्न पुगे ।