स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पूँजी बजारको दीर्घकालीन सम्भावना उज्जवल रहेको भन्दै लगानीकर्तालाई आत्मविश्वासका साथ संयमित ढंगले कारोबार गर्न आग्रह गरेको छ। पछिल्लो समय बजारमा देखिएको अनिश्चितताका कारण लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै अब धैर्य र सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न एसबानका अध्यक्ष सागर ढकालले आह्वान गरेका हुन्।
उनका अनुसार हाल नेप्से परिसूचक न्यूनतम बिन्दुमा पुगेको भए पनि सरकार, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलगायत निकायहरूले बजार स्थिरता र सुधारका लागि ठोस कदम चालिसकेका छन्। ढकालले भने, “नयाँ सरकार गठनसँगै पूँजी बजार सुधार सुझाव समिति बनेको छ र त्यसका सिफारिसअनुसार तत्काल कार्यान्वयनका काम अघि बढाइएका छन्। राष्ट्र बैंक र धितोपत्र बोर्ड दुवैले सुधारका पहललाई मूर्तरूप दिन थालेका छन्।”
ढकालका अनुसार ब्रोकर एशोसिएशनले पनि सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै बजार सुधारका दीर्घकालीन नीतिहरू लागू गर्न दवाव दिँदै आएको छ।
उनले हालको आन्दोलन, राजनीतिक अस्थिरता र सामाजिक तनावका बाबजुद देशको आर्थिक सूचकांकहरू-जस्तै बैंक ब्याजदर, विदेशी मुद्राको भण्डार, मुद्रास्फीति दर र वित्तीय तरलता-सबै क्रमशः सुधारोन्मुख रहेको बताए। “अर्थतन्त्रमा स्थायित्वका संकेत देखिन थालेका छन्, त्यसैले सेयर बजारमा सुधार आउनु अनिवार्य छ,” उनले स्पष्ट पारे।

जेनजी पुस्ताद्वारा असोज २३ र २४ गते भएको आन्दोलन र त्यसपछि देखिएको राजनीतिक अस्थिरताले बजारमा अस्थायी प्रभाव पारेको भए पनि अन्तरिम सरकारले शान्ति–सुरक्षा, अर्थतन्त्रको स्थायित्व र दिगो विकासका लागि छोटो, मध्यम र दीर्घकालीन नीति लागू गर्न थालेको उनले बताए।
“अहिलेको सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको छ। त्यसैले लगानीकर्ताले हताश नभई आफ्नो सम्पत्ति सुरक्षित राख्दै सोचविपरीत हतारमा निर्णय नगरी संयमपूर्वक सेयर कारोबार गर्नुपर्छ,” ढकालले जोड दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।