काठमाण्डौ । नेपाल रि इन्स्योरेन्सले बीमा कम्पनीहरुलाई पौने २ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पुगेको क्षतिको बीमा वापतको भुक्तानी नेपाल रि ले बीमकहरुलाई दिएको हो ।
बीमा कम्पनीहरुले अग्रिम भुक्तानीको माग गरेबमोजिम नेपाल रि इन्स्योरेन्सले सोही बमोजिम नै सबै बीमकहरुलाई अग्रिम भुक्तानी दिएको कम्पनीका सीइओ सुरेन्द्र थापाले बताए ।
‘कम्पनीहरुले सर्भेयरको डकुमेन्ट पेश गरेबमोजिम हामीले अग्रिम भुक्तानी दिइरहेको छौं’ उनले भने, ‘बीमित र बीमक दुबैलाई अप्ठ्यारोमा नपार्ने गरी अग्रिम भुक्तानीको थालनी गरेका हौं र तिहार अघिसम्म ३ अर्ब रुपैयाँ बराबरको अग्रिम भुक्तानी दिने कम्पनीको लक्ष्य रहेको छ ।’
नेपाल पुनर्बीमा कम्पनीका अनुसार थप रकम माग भएको अवस्थामा समेत भुक्तानी दिने तयारीमा कम्पनी रहेको छ ।
कम्पनीको प्रारम्भिक आँकलनअनुसार जेनजी आन्दोलनका क्रममा क्षति भएको सम्पत्तिको बीमाबापत १२ अर्ब भन्दा बढीको दायीत्व यो कम्पनीलाई मात्र आइपर्ने देखिएको छ ।
यता बीमा कम्पनीहरुले पनि नेपाल पुनर्बीमाबाट अग्रिम भुक्तानी पाउन थालेपछि धमाधम दाबी भुक्तानी दिन थालेको छ । सबैभन्दा धेरै क्षति पुगेको भाटभटेनी सुपरमार्केटलाई शिखर इन्स्योरेन्सले प्रारम्भिक मूल्यांकनको २५ प्रतिशत रकम भुक्तानी गरिसकेको छ ।