काठमाण्डौ । २३ र २४ भदौमा देशभर भएका हिंसात्मक घटनामा भाटभटेनी सुपरमार्केट सबैभन्दा बढी प्रभावित भएको छ। घटनापछि क्षति विवरणसहित दर्ता गरिएको उजुरी अनुसार, कम्पनीले करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेको छ।
स्टोरहरूमा व्यापक क्षति र चोरी
भाटभटेनीले आफ्नो उजुरीमा जनाएको छ कि १२ वटा स्टोर पूर्ण रूपमा नष्ट भएका छन् भने थप ८ स्टोरमा आंशिक क्षति भएको छ। करिब ५० करोड रुपैयाँभन्दा बढीको सामग्री चोरी हुनुका साथै सामान प्रयोगयोग्य नहुने गरी तोडफोड भएको उजुरीमा उल्लेख छ।
कम्पनीले भनिएको छ कि प्रारम्भमा स्टोरहरूमा प्रवेश गरेका प्रदर्शनकारीहरूले सजिलै लैजान सकिने सामानहरू चोरी गरेका थिए। केही फुटेजहरू सीसी क्यामेरामा रेकर्ड पनि भएका थिए। तर भीड बढेपछि कम्पनीले रेकर्ड राख्न नसक्दा ज्यान जोगाउनेतर्फ ध्यान केन्द्रित गर्नुपरेको उल्लेख छ।
“डिपार्टमेन्ट स्टोरमा प्रवेश गरेका प्रदर्शनकारीहरूले सुरुमा लुटपाट गरे। केही स्थानीय र धेरै बाहिरका मानिसहरू सहभागी थिए। कतिपय प्रदर्शनकारी मास्क लगाएका थिए। भीड बढेपछि हामीले रेकर्ड राख्न सकेनौं,” उजुरीमा भनिएको छ।
लुटपाट र आगजनी योजनाबद्ध
भाटभटेनीले उजुरीमा केही स्टोरमा लुटपाट योजनाबद्ध भएको र आगजनी व्यवस्थित तरिकाले गरिएको उल्लेख गरेको छ।
“सबै स्टोरमा एउटै तरिकाले चोरी, आगजनी र तोडफोड गरिएको देखिन्छ। यसमा विभिन्न समूहका आपराधिक व्यक्तिहरूको संलग्नता स्पष्ट छ,” उजुरीमा भनिएको छ।
स्टोरअनुसार क्षतिको विवरण
| स्टोर | क्षति रकम (रुपैयाँ) |
|---|---|
| बालुवाटार | १ अर्ब १ करोड ९३ लाख ८९ हजार |
| महाराजगञ्ज | १ अर्ब ६ करोड ६० लाख |
| बौद्ध | ८५ करोड ४२ लाख ८५ हजार |
| कोटेश्वर | ९५ करोड ९२ लाख ६३ हजार |
| पोखरा | ६९ करोड ८४ लाख ३० हजार |
| हेटौंडा | ७० करोड ४३ लाख ७८ हजार |
| धरान | ५४ करोड ६२ लाख १७ हजार |
| विराटनगर | ७५ करोड ७३ लाख १२ हजार |
| दमक | ९१ करोड १९ लाख २४ हजार |
| बालाजु | ८१ करोड ४ लाख २१ हजार |
| कलंकी | ८ करोड २१ लाख ६५ हजार |
| ठिमी | ९ करोड ७७ हजार |
| भैरहवा | ७ करोड २७ लाख ५३ हजार |
| वुटवल | ६ करोड १२ लाख ५१ हजार |
| धनगढी | ४० लाख ९० हजार |
| इटहरी | ९ करोड ३ लाख २ हजार |
| वीरगन्ज | ३ करोड ७१ हजार |
| जनकपुर | ३ करोड ४२ लाख ५१ हजार |
कुल क्षति: १० अर्ब ५ करोड ६७ लाख ९ हजार ८ सय ५४ रुपैयाँ


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।