शुभ राणा-बीबीसी
तिहार आयो, र सँगै सोन पापडी पनि ल्यायो। यो वाक्य सामाजिक सञ्जालमा वा आपसी कुराकानीमा प्रायः व्यङ्ग्यको रूपमा प्रयोग हुन्छ।
कुरा अलि अगाडि बढ्दा मानिसहरू हाँसो-मजाकमा भन्छन्, कहिलेकाहीँ त एउटै सोन पापडीको डिब्बा विभिन्न घरहरूमा घुम्छ। अर्थात्, उपहारमा प्राप्त सोन पापडीको प्याकेट नखोलीकनै नजिकका साथी, परिवार वा नातेदारलाई दिइन्छ।
सोन पापडी देख्दा कसैको मुखमा पानी आउँछ भने कसैको मुख बन्छ। तर सत्य के हो भने, तपाईंलाई सोन पापडी मन पर्छ वा पर्दैन, तिहारको आसपासमा यो मिठाईलाई बेवास्ता गर्न सकिँदैन।
सोन पापडी, जसलाई सोहन पापडी, पतिसा, सन पापडी वा शोमपापडी पनि भनिन्छ, बेसन, घी र चिनीबाट बनिन्छ। तर के तपाईंलाई थाहा छ, यो मुखमा झट्टै पग्लने मिठाई आखिर कहाँबाट आयो?
बीबीसीले यो प्रश्नको जवाफ खोज्न भारतीय खानाका विशेषज्ञ पुष्पेश पन्त र खानपानको संस्कृतिमा अनुसन्धान गर्ने चिन्मय दामलेसँग कुराकानी गरेको छ।
'तिहारको मात्र मिठाई होइन'
के तपाईंलाई लाग्छ सोन पापडी तिहारका लागि मात्र हो? भारतीय व्यञ्जनका जानकार तथा जेएनयूका पूर्व प्राध्यापक पुष्पेश पन्त भन्छन्, "यो ठूलो भ्रम हो कि सोन पापडी तिहारको मात्र मिठाई हो। यो मिठाई वर्षका १२ महिना हरेक ठाउँमा पाइन्छ। गाउँका पसलदेखि विमानस्थल र रेल स्टेसनसम्म सोन पापडीको प्याकेट सजिलै पाइन्छ।"
प्राध्यापक पन्त थप्छन्, "सोन पापडीमा दूध हुँदैन। यो बेसन र चिनीबाट बनिन्छ, जसले गर्दा यो छ महिनासम्म बिग्रँदैन। यही कारणले ठूला ब्रान्डहरूले यसलाई देश-विदेशमा ठूलो परिमाणमा पठाउँछन्। यो मोतीचूर लड्डु वा काजु कतलीजस्तै हर अवसरको मिठाई हो।"
खानपानको परम्परामा अनुसन्धान गर्ने चिन्मय दामले भन्छन्, "यसको सस्तो मूल्य र ठूलो परिमाणमा उत्पादनले तिहारमा यो सबैभन्दा बढी बाँडिने मिठाई बनेको छ। यही कारण मानिसहरू यसलाई 'हर घरको मिठाई' भन्दै मजाक पनि गर्छन्।"
सोन पापडीको उत्पत्ति
पुष्पेश पन्तका अनुसार, यो मिठाईको जरा पञ्जाबमा छ र यो पतिसासँग जोडिन्छ। उनी भन्छन्, "पतिसा बनाउन सजिलो काम थिएन। पञ्जाबका पुराना परिवारलाई सम्झना होला, चिनीको चास्नीलाई बारम्बार पिटेर र तन्काएर त्यसमा बारीक रेशाहरू बनाइन्थ्यो। यो रेशेदार बनावट नै सोन पापडीलाई विशेष बनाउँछ।"
"के तपाईंलाई बाल्यकालमा खाएको 'बुढियाको कपाल' वा गजक सम्झना छ? यो त्यस्तै प्रविधि हो। पहिले यो सबै हातले बनाइन्थ्यो, तर अहिले मेसिनले काम सजिलो बनाएको छ।"
पन्तका अनुसार, "पञ्जाबमा बेसन लड्डुसँगै पतिसा बनाइन्थ्यो, जुन बिस्तारै सोन पापडीमा परिणत भयो। दुवैमा एउटा कुरा साझा छ- रेशेदार बनावट र चिनीको मिठास।"
चिन्मय दामले भने सोन पापडीको मूल फारसी मिठाई 'पश्मक'सँग जोड्छन्। "पश्मकको अर्थ 'ऊनजस्तो' हो, जसले यसको रेशेदार बनावटलाई जनाउँछ। १९औँ शताब्दीमा फारसी व्यापारीहरू मुम्बईको गल्लीमा पश्मक बेच्थे। एसएम एडवर्ड्सको किताब 'बाइ-वेज अफ बोम्बे'मा यसको उल्लेख छ। पश्मकमा चिनी, ड्राई फ्रुट्स, पिस्ता र इलायचीको सुगन्ध हुन्थ्यो।"
दामले 'सोहन' शब्दलाई संस्कृतको 'शोभन' (सुन्दर) सँग जोड्छन्। उनले मिर्जा गालिबको एउटा पत्रमा 'सोहन'को उल्लेख भएको बताउँछन्, जहाँ उनले बाजराको हलवाको कुरा गरेका छन्।
सोन हलवा र सोन पापडीमा के फरक?
दामले बताउँछन्, "सोहन हलवा गहुँबाट बनिन्छ र गाढा हुन्छ, जबकि सोन पापडी बेसनबाट बनिन्छ र रेशेदार हुन्छ। १८औँ शताब्दीमा अवधमा सोन पापडी बनिन थालिएको थियो र यसलाई चार प्रकारका 'सोहन' मिठाईमा गनिन्थ्यो। २०औँ शताब्दीसम्म बिहार र बङ्गाल, खासगरी बक्सरमा यसका पसलहरू प्रख्यात थिए।"
दामले अर्को मिठाई 'सौंध हलवा'को पनि उल्लेख गर्छन्, जुन १८औँ शताब्दीमा नाइजेरियाबाट रामपुर आएको थियो, तर यो सोन पापडीभन्दा फरक थियो।
मजाकको हिस्सा
सोन पापडी दूधबिना बनाइने भएकाले लामो समयसम्म बिग्रँदैन। तिहारमा यो हाँसो-मजाक र मिम संस्कृतिको हिस्सा बन्छ। दामले भन्छन्, "यसको ठूलो परिमाणमा उत्पादन हुन्छ, यो सस्तो छ र दूधबिना बनाइने भएकाले लामो समयसम्म टिक्छ। यही कारण तिहारमा मानिसहरू यसलाई धेरै बाँड्छन्। हरेक घरमा सोन पापडीको डिब्बा पुग्छ, र मानिसहरू यसलाई 'तिहारको निश्चित उपहार' भन्दै मजाक गर्छन्।"
सोन पापडीको कथाले यसलाई विश्वका दुई भागसँग जोड्छ। पुष्पेश पन्त यसलाई पञ्जाबको पतिसासँग जोड्छन् भने चिन्मय दामले फारसी पश्मकसँग सम्बन्धित ठान्छन्। तर दुवैजना यसको बारीक रेशा र मुखमा पग्लने स्वादले यसलाई अनौठो बनाएको कुरामा सहमत छन्।
-बीबीसी हिन्दीको रिपोर्टको भावानुवाद