काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापार सम्झौता नभए चीनले नोभेम्बरको पहिलो दिनदेखि १५५ प्रतिशत कर तिर्नुपर्ने बताएका छन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।
ट्रम्पले भने, ‘मलाई लाग्छ चीनले हामीलाई धेरै सम्मान गरेको छ। उनीहरूले हामीलाई करको रूपमा धेरै पैसा तिरिरहेका छन्। उनीहरूले ५५ प्रतिशत कर तिरिरहेका छन्, जुन धेरै उच्च छ।’
उनले भने, ‘अमेरिकाबाट धेरै देशले फाइदा उठाए, तर अहिले त्यो गर्न सकिरहेका छैनन्। चीनले ५५ प्रतिशत महशुल तिर्दै आएको छ र हामीबीच सहमति नभए नोभेम्बर १ बाट १५५ प्रतिशत भन्सार लाग्न सक्छ।’ ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने बताएका छन् । उनले यो बैठक आगामी केही हप्तामा दक्षिण कोरियामा हुने बताए ।
अमेरिकी राष्ट्रपतिले अमेरिका र चीन दुवैको हितमा समाधान खोज्ने आशा व्यक्त गरे ।