काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न सुरु गरेका छन् । विशेषगरी सेयरबजारका लागि असोज, कात्तिक र मंसिर यी ३ महिना लाभांश घोषणाको सिजन मानिन्छ ।
हालसम्म २६ वटा सूचीकृत कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै हालसम्म २६ कम्पनीले आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेका हुन् ।
लाभांश घोषणा गर्नेमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था छन् । हालसम्म १५ बैंक तथा वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । जसमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सिटिजन्ट इन्टरनेशनल बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्स, गुराँस लघुवित्त, आरएसडीसी लघुवित्त र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेका छन् ।

त्यस्तै, हाइड्रो समूहबाट भगवती हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।
यसका साथै उत्पादन तथा प्रशोधन समूहबाट नेपाल ल्युब आयल, हिमालयन डिष्टिलरी, युनिलिभर नेपाल लिमिटेड र लगानी समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेका छन् ।
त्यस्तै, होटल तथा पर्यटन समूहबाट सोल्टी होटल लिमिटेड र अन्य समूहबाट मुक्तिनाथ कृषि कम्पनीले पनि गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
गत आवको मुनाफाबाट सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमा सोल्टी होटल र युनिलिभर नेपाल लिमिटेड रहेको छ । सोल्टी होटल कम्पनीले १५ प्रतिशत बोनस सेयर र १६.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत र युनिलिभर नेपाल लिमिटेडले प्रतिसेयर १ हजार ८४२ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
सबैभन्दा थोरै लाभांश दिने कम्पनीमा सिटिजन्स बैंक रहेको छ । यो बैंकले जम्मा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश मात्रै प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका २६ कम्पनीमध्ये १४ कम्पनीको बुकक्लोज भइसकेको छ भने बुकक्लोजको मिति तोकिसकेका ५ कम्पनीको बुकक्लोज हुन बाँकी छ । साथै, ७ कम्पनीले भने हालसम्म पनि बुकक्लोजको मिति तोकिसकेको छैन । यसर्थ अझै १२ कम्पनीको सेयर किन्दा लाभांश पाउन सकिनेछ ।

