काठमाण्डौ । बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएको छ । यसले विश्वका शीर्ष १० धनी व्यक्तिमध्ये १७ जनाको नेटवर्थमा गिरावट आएको छ। मार्क जुकरबर्गको सम्पत्ति सबैभन्दा धेरै घटेको छ। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मको सेयर बिहीबार ११ प्रतिशतभन्दा बढीले घटेको छ ।
जसका कारण कम्पनीका सीईओ जुकरबर्गको नेटवर्थ २९.२ बिलियन डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले २३५ अर्ब डलरमा सीमित बनेको छ र उनी धनीहरुको सूचीमा तेस्रोबाट पाँचौं स्थानमा झरेका छन् । यो वर्ष उनको कुल सम्पत्ति २८ अर्ब डलरले बढेको छ ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बिहीबार विश्वका धनी व्यक्ति एलन मस्कले १५.३ बिलियन डलर गुमाए र उनको कुल सम्पत्ति ४५७ बिलियन डलरमा झरेको छ । ओरेकलका संस्थापक ल्यारी एलिसनले १९.८ बिलियन डलर घाटा व्यहोरेका छन् र ३१७ बिलियन डलरको साथ धनाढ्यको सूचीमा दोस्रो स्थानमा रहेका छन् ।
जेफ बेजोसले ६.६ बिलियन डलर गुमाए तर ल्यारी पेजले ५.३१ बिलियन डलर कमाए र धनीहरुको सूचीमा चौथो स्थानमा पुगेका छन् । पेजको कुल सम्पत्ति २४४ बिलियन डलर पुगेको छ र उनी बेजोस (२४६ बिलियन डलर) भन्दा पछि छन्।
यस सूचीमा छैटौंमा सर्गेई ब्रिन (२२८ अर्ब डलर), सातौंमा बर्नार्ड अर्नाल्ट (१९४ अर्ब डलर), आठौंमा स्टिभ बाल्मर (१८१ अर्ब डलर), नवौंमा जेन्सेन ह्वाङ (१७६ अर्ब डलर) र दशौंमा माइकल डेल (१६५ अर्ब डलर) छन् ।

