काठमाण्डौ । शिव श्री हाईड्रो पावर लिमिटेडले आजदेखि साढे ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि असोज २३ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ८ लाख ६५ हजार ८४५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा माग अनुसारको कित्ताका लागि आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सिटिजन्स क्यापिटलको दिल्लीबजारस्थित कार्यालय, सिटिजन्स बैंकका शाखा कार्यालयहरु–कुमारीपाटी,ठिमी, इटहरी,विराटनगर, बिर्तामोड,वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी,पोखरा,बुटवल र हेटौडा शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति कात्तिक २७ गते रहेको छ ।

