काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सागर डिष्टिलरीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल ७२ लाख ६० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष मुक्तिनाथ क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत भदौ ३० गतेदेखि असोज ५ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको १४ लाख ५२ हजार कित्ता र संस्थापक सेयरधनीहरुमा वितरण गरिएको ५८ लाख ८ हजार कित्ता गरी जम्मा ७२ लाख ६० हजार कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कात्तिक १६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘हिमस्टार’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०६.५२ रुपैयाँ र ३१९.५६ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।

