काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड आम्दानी घटेपनि नाफा बढाउन सफल भएको छ । खर्च घटेसँगै आम्दानीमा आएको गिरावटका बाबजुत पनि कम्पनी ९ करोड ७२ लाख खुद नाफा आर्जन गर्न सफल भएको हो ।
कम्पनीले चालु आवको पहिलो त्रैमासमा आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.२० प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ५६ लाख खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत २७ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.५७ प्रतिशतले कम हो । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ८२ लाख ६३ हजारबाट घटेर ५७ लाख ७१ हजार र वित्त खर्च १२ करोड ८१ लाखबाट घटेर ९ करोड ११ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ३४ करोड २९ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार २६ लाख ३३ हजार रुपैयाँले धनात्मक छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७८.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५५.०७ गुणा र तरलता अनुपात ०.५४ प्रतिशत कायम भएको छ ।

