काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पौने ७१ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३३.६६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ५३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको व्यवसाय समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आवमा ५ करोड १३ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यो कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ११ करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस हिसाबले कम्पनीको व्यवसाय ११९.४५ प्रतिशत बढेको छ ।
साथै कम्पनीले सो अवधिसम्म ११ करोड ७७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको छ । यो रकम गत आवको तुलनामा २६४.१४ प्रतिशत बढी हो । गत आवको यस अवधिसम्म भने कम्पनीले जम्मा ३ करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो ।
७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको सो अवधिसम्म बीमा कोषमा ३४ करोड ६४ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ भने महाविपत्ती कोषमा ३२ लाख ९३ हजार रुपैयाँ सञ्चित र रिटेन्ड अर्निङ २ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४.०४ रुपैयाँबाट घटेर ३.७८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १०३.४१ रुपैयाँ र पीई रेसियो ५११।९३ गुणा रहेको छ ।

