काठमाण्डौ । नेपाल टेलिकम(एनटीर्सी)ले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको वित्तीय अवस्थामा ह्रास आएको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको तुलनामा २३.८२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले यो अवधिमा ९ अर्ब ४७ करोड रुपैयाँबराबरकमो कुल आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसरी कम्पनीको आम्दानी ५.८९ प्रतिशतले खस्किएको छ ।
कम्पनीको रिजर्भको आकार ७३ अर्ब ३ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.८५ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ५० अर्ब ७६ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३८.६६ रुपैयाँबाट घटेर २९.४५ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५०५.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७०२.०४ रुपैयाँ, तरलता अनुपात २.३३ प्रतिशत र पीई अनुपात २८.७२ गुणा कायम भएको छ ।

