काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा यही मंसिर २६ गते भैरहवामा रहेको होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै बोनस सेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम कम्पनीको प्रवन्धपत्र संशोधन गर्ने, सञ्चालकहरुको मासिक पारिश्रमिक, बैठक भत्ता तथा उप समिति बैठक भत्ता अनुमोदन गर्ने जस्ता विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीहद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनकमा लागि योग्य हुनेछन् ।

