काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात ०.९३ अंकले घटेर २ हजार ५६०.१५ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले घटेर ४४०.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार टेकेन्द्र थपलियाले लगानीकर्तामा उच्च मनोबलको अभावका कारण पछिल्लो समय सेयरबजार उभो लाग्न नसकेको बताए । साइडवेजमा चलिरहेको बजारमा बेलाबखतमा हुने विभिन्न राजनीतिक घटनाक्रमले बजार थप दबाबमा परेको समेत उनको तर्क छ ।
बजारमा सबै कुरा सकारात्मक रहेको तर राजनीतिक स्थिरताको कमीले भने केही समस्या भएको उनले बताए । राजनीतिक दिशा थप प्रष्ट हुँदै गएमा भने बजारले उकालो यात्रा तय गर्ने उनले विश्वास व्यक्त गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने अन्य ७ वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.१६ प्रतिशतले बढ्यो । हाईड्रो समूह पनि आज ०.०९ प्रतिशत, लघुवित्त ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.७१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३४ प्रतिशत, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६, म्युचुअल फण्ड ०.४१ र निर्जीवन बीमा ०.३३ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको पनि १६ करोड ९३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६९ लाख, युनियन हाईड्रोपावरको १२ करोड १५ लाख र बरुण हाईड्रोपावरको १२ करोड ६३ हजार बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज धौलागिरी लघुवित्त, बन्दीपुर केवलकार,झापा इनर्जी र सागर डिष्टिलरीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज सिन्धु विकास बैंकको सेयरमूल्य ९.६० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.७१ र चिर्ख्वा हाईड्रोपावरको सेयरमूल्य ६.८० प्रतिशतले बढ्यो ।
यो दिन बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.०५ प्रतिशतले घट्यो ।
यस्तै दरमखोला हाईड्रो इनर्जीको सेयरमूल्य ४.९१ प्रतिशत र विकास हाईड्रोपावरको सेयरमूल्य ३.७९ प्रतिशतले घट्यो ।

