काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने हायर पर्चेज लोनमा बढोत्तरी देखिएको छ । लामो समयसम्म सुस्तता छाएको अटो सेक्टर विस्तारै चलायमान बन्दै गएको तथ्याङ्कले देखाएको छ ।
सस्तो ब्याजदरका कारण अहिले बैंक वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा सुस्तता देखिएपनि हायर पर्चेज लोन अर्थात् सवारी साधन कर्जा प्रवाहमा भने उत्साह देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस्तो शीर्षकमा १ खर्ब २९ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यो गत आवको सोही अवधिको तुलनामा ३.६६ प्रतिशत बढी हो । गत आवको असोज मसान्तसम्ममा कुल १ खर्ब २४ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेका थिए ।
सो अवधिसम्म वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब १४ अर्ब १ करोड ८४ लाख रुपैयाँ सवारी कर्जा प्रवाह भएको छ । यो गत आवको सोही अवधिसम्मको तुलनामा ५.७४ प्रतिशत बढी हो ।
अधिकांश बैंकहरुले अटो कर्जा बढाएका छन् । समिक्षा अवधिमा एभरेष्टसहित १३ वटा बैंकको हायर पर्चेज कर्जा बढाएका छन् । तर, एनआइसी एशियासहित ७ वटाले भने घटाएको देखिन्छ ।
समिक्षा अवधिमा एभरेष्ट बैंकको सवारी कर्जा सर्वाधिक ८८.८७ प्रतिशत बढेको छ । दोस्रो स्थानमा रहेको नेपाल एसबिआईको ४५.६७ प्रतिशत बढेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ४४.५८ प्रतिशत, कृषि विकासको ३४.३८ प्रतिशत, सानिमाको १३.१६ प्रतिशत, हिमालयनको १२.३८ प्रतिशत वृद्धि भएको छ ।
तर, एनआइसी एशिया बैंकको सर्वाधिक घटेको छ । समिक्षा अवधिमा बैंकको सवारी कर्जा ४०.८९ प्रतिशत घटेर १ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डको ३९.७९ प्रतिशत, कुमारीको ३२.६७ प्रतिशत, नेपाल बैंकको १९.०७ प्रतिशत, लक्ष्मी सनराइजको १०.४६ प्रतिशत, माछापुच्छ्रेको ९.९८ प्रतिशत, प्रभूको २.७४ प्रतिशत घटेको छ ।
सवारी खरिदका लागि रकमका आधारमा भने सबैभन्दा ठुलो ऋण लगानी ग्लोबल आइएमईको छ । बैंकको यस्तो शीर्षकमा १५ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यता, नबिल बैंकको पनि ११ अर्ब ७० करोड ३६ लाख रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह गरेको देखिन्छ । यी दुई बैंकको बैंकको सवारी कर्जा गत वर्षको तुलनामा क्रमशः ४.४५ र ४.८१ प्रतिशत बढी हो ।


